झापा गोल्डकप: आर्मीलाई पराजित गर्दै मछिन्द्र फाइनलमा, जोनाथन जोरिल्लाको ह्याट्रिक
दमक, झापा । झापा गोल्डकपको चारपटकको उपाधि विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई स्तब्ध पार्दै मछिन्द्र फुटबल क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मछिन्द्रले आर्मीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो। मछिन्द्रको शानदार जितमा विदेशी खेलाडी जोनाथन जोरिल्ला नायक बने।
मछिन्द्रले खेलको सुरुवातदेखि नै दबाब कायम गरेको थियो। खेलको चौथो मिनेटमै अयोला हमजातको क्रस पासलाई सदुपयोग गर्दै जोनाथन जोरिल्लाले गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २४औँ मिनेटमा आर्मीका खेलाडीले डिबक्सभित्र ह्यान्डबल गरेपछि मछिन्द्रले पेनाल्टीको अवसर पायो, जसमा जोरिल्लाले कुनै गल्ती नगरी व्यक्तिगत दोस्रो गोल गरे।
दोस्रो हाफमा पनि मछिन्द्रले आफ्नो आक्रामक लयलाई निरन्तरता दियो। ५२औँ मिनेटमा प्रदिप बुढाथोकीको पासमा जोरिल्लाले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे भने मछिन्द्रको अग्रता ३–० पुर्याए। खेलको अतिरिक्त समयमा सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै टोलीको जित ४–० मा सुनिश्चित गरे।
मछिन्द्रविरुद्ध आर्मीको प्रदर्शन निकै कमजोर देखियो। खेलको नवौँ मिनेटमा नविन लामा र ७०औँ मिनेटमा दिनेश हेन्जनले पाएका सुनौला अवसरहरू सदुपयोग गर्न नसक्दा आर्मी खेलमा फर्कन सकेन। मछिन्द्रका तर्फबाट पनि सौरभ लिम्बु र अभिषेक स्याङतानले केही अवसरहरू गुमाएका थिए।
खेलको 'प्लेयर अफ द म्याच' ह्याट्रिककर्ता जोनाथन जोरिल्ला घोषित भए। उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यो पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ र उनका साथीहरूले प्रायोजन गर्दै आएका छन्।
दर्शकलाई उपहार र पुरस्कार राशी: प्रतियोगितामा दर्शकको आकर्षण बढाउन महेन्द्ररत्न स्टोर्सले दैनिक एक थान टेलिभिजन प्रदान गर्दै आएको छ भने फाइनल खेलको दिन एकजना भाग्यशाली दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिनेछ।
झापा गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, विधागत उत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल तथा उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र गोलकिपरले जनही ३५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ। मछिन्द्रले अब उपाधिका लागि फागुन ४ गते हुने फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।