शिक्षा
सर्वोदय स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई रचनात्मक बिदाई
दमक, झापा । झापाको दमक-५ मा अवस्थित सर्वोदय इङलिस बोर्डिङ स्कुलले आफ्ना कक्षा १२ का विद्यार्थीहरूलाई परम्परागत शैलीभन्दा भिन्न र रचनात्मक ढंगले बिदाई गरेको छ। विद्यालयले विद्यार्थीहरूको बिदाईलाई यादगार र अर्थपूर्ण बनाउन दुई दिने 'बिदाई तथा पुनर्ताजगी भ्रमण' को आयोजना गरी उनीहरूलाई सुखद बिदाइ गरेको हो।इलामको प्रसिद्ध पर्यटकीय स्थल श्री अन्तु र कन्यामको दुई दिने भ्रमणका क्रममा विद्यार्थीहरूले प्राकृतिक सौन्दर्यको अवलोकन गर्नुका साथै सामूहिक रूपमा खुसी साटासाट गरेका थिए। भ्रमणको पहिलो दिन श्री अन्तुमा सूर्योदयको मनमोहक दृश्य अवलोकन गरेका विद्यार्थीहरूले दोस्रो दिन कन्यामको रमणीय चिया बगानमा विशेष बिदाई कार्यक्रमको आयोजना गरेका थिए।उक्त कार्यक्रममा विद्यालयका सह-प्राधानाध्यापक विष्णु पराजुली, लेखा शाखा प्रमुख सुजन कार्की तथा अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरूले विद्यार्थीहरूलाई आगामी उच्च शिक्षा र उज्ज्वल भविष्यको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।विद्यालयको चार पर्खालभित्र मात्र सीमित नरही प्रकृतिसँग घुलमिल गराउँदै बिदाई गर्दा विद्यार्थीहरूमा नयाँ उत्साह र ऊर्जा थपिने विश्वास विद्यालय प्रशासनले लिएको छ। यता विद्यार्थीहरूले पनि यस किसिमको भ्रमणसहितको बिदाईले आफूहरूबीचको सम्बन्ध अझ प्रगाढ बनेको र यो क्षण जीवनभर यादगार रहने बताएका छन्।सर्वोदय स्कुलले विद्यार्थीहरूको चौतर्फी विकास र मानसिक स्फूर्तिका लागि विगतदेखि नै यस्ता रचनात्मक क्रियाकलापहरूलाई प्राथमिकता दिँदै आएको छ।
सर्वोदय ईङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलको १८ औँ वार्षिकोत्सव सम्पन्न
दमक–५ स्थित सर्वोदय ईङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर 'सर्वोदय गट ट्यालेन्ट २०८२' को ग्राण्ड फिनाले विद्यालयकै प्राङ्गणमा भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सुवेदीको सभापतित्वमा आयोजित उक्त समारोहमा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। १२०० भन्दा बढी अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा प्रधानाध्यापक नवीन योगीले स्वागत मन्तव्य राख्दै विद्यालयको प्रगति प्रतिवेदन तथा भावी योजनाहरू प्रस्तुत गर्नुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले सर्वोदय स्कुलले दमकका विभिन्न नगरस्तरीय क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको र यो विद्यालय निजी क्षेत्रको एक नमूना शैक्षिक संस्थाको रूपमा स्थापित भएको बताउनुभयो। सो अवसरमा विशिष्ट अतिथिका रूपमा नगर शिक्षा समिति संयोजक कुबेर भट्टराई, दमक शिक्षा अधिकृत सोम गुरागाईं र दमक वडा नं. ५ का अध्यक्ष इन्द्र गुरुङको उपस्थिति रहेको थियो। विद्यालयका सहायक प्रधानाध्यापक विष्णु पराजुलीले पनि कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रमको आकर्षक सञ्चालन शिक्षक ईश्वर खनाल र विद्यार्थी श्रीबिना राईले संयुक्त रूपमा गर्नुभएको थियो।समारोहमा यस वर्षको 'उत्कृष्ट शिक्षक' विधाबाट ईश्वर खनाललाई सम्मान गरिएको थियो भने विद्यालयको स्थापना कालदेखि नै सेवा पुर्याउँदै आउनुभएकी सबैभन्दा पुरानो कर्मचारी झुमा ओझालाई दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो। विद्यार्थीहरू तर्फ कक्षा ९ की सुम्निमा खाजुमले 'स्टुडेन्ट अफ द इयर' र कक्षा ९ कै श्रीबिना राईले 'परफर्मर अफ द इयर' को उपाधि प्राप्त गरे। 'सर्वोदय गट ट्यालेन्ट २०८२' को फाइनल अन्तर्गत नृत्यतर्फ दिप्सना कुँवर प्रथम, अखिरा अधिकारी द्वितीय र सेमिना राई तृतीय भए। त्यस्तै, गायनमा ज्याकलिन मैनाली, दिक्षिता मिश्र र रोहन सिटौलाले उत्कृष्ट प्रस्तुति दिएका थिए भने चित्रकला विधामा खुस्बु लिम्बूको प्रतिभा प्रशंसनीय रहेको थियो।
दमकमा सरस्वती स्काउटको ऐतिहासिक पहिलो रात्रि पदयात्रा क्याम्प सम्पन्न
दमक, झापा । झापाको दमक–२ स्थित सरस्वती स्काउट दलको आयोजनामा सञ्चालित पहिलो ऐतिहासिक रात्रि पदयात्रा क्याम्प भव्य समापन समारोहका साथ सफलतापूर्वक सम्पन्न भएको छ। गत फाल्गुन ६ गतेदेखि १० गतेसम्म पाँच दिन निरन्तर सञ्चालन भएको यस शिविरले कोशी प्रदेशको स्काउट अभियानमा नयाँ ऊर्जा थप्नुका साथै सहभागी युवाहरूलाई जीवनोपयोगी सिकाइको महत्वपूर्ण अवसर प्रदान गरेको छ।यस विशेष क्याम्पको नेतृत्व सम्हाल्नुभएका क्याम्प प्रमुख अभि अधिकारीको कुशल व्यवस्थापन र सुरक्षाप्रतिको सचेतताका कारण सम्पूर्ण कार्यक्रम अनुशासित र प्रभावकारी रूपमा सम्पन्न भएको सहभागीहरूको अनुभव छ। कोशी प्रदेश स्काउट प्रमुख आयुक्त हेमन्त भण्डारीको गरिमामय उपस्थितिले सहभागी स्काउटहरूमा थप उत्साह भरेको थियो भने विभिन्न स्थानबाट आएका सदस्यहरूबीच आपसी भ्रातृत्व र सहकार्यको भावना मजबुत बनेको छ।क्याम्पको समापन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै दमकका स्थानीय स्काउट आयुक्त साजन श्रेष्ठले स्काउट आन्दोलनले युवाहरूमा अनुशासन र नेतृत्व क्षमता विकास गर्न ठूलो भूमिका खेल्ने चर्चा गर्नुभयो। उहाँले यस्ता व्यावहारिक कार्यक्रमहरूले युवालाई समाजप्रति जिम्मेवार नागरिक बनाउने हुँदा आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।क्याम्प प्रमुख अभि अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने प्रशिक्षक, स्वयंसेवक र अभिभावकहरूप्रति हार्दिक आभार प्रकट गर्नुभयो। उहाँले यो ऐतिहासिक पदयात्रा केवल एउटा कार्यक्रम मात्र नभई स्काउट जीवनशैली, आत्मनिर्भरता र सामूहिक उत्तरदायित्वको अभ्यास गर्ने एउटा महत्वपूर्ण पाठशाला बनेको बताउनुभयो। सरस्वती स्काउट दलको यो नवीन पहलले भविष्यमा अझ ठूला र प्रभावकारी स्काउट गतिविधिहरू सञ्चालन गर्ने बलियो आधार तयार गरेको छ।
डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण: अध्यक्षमा अप्सन खनाल निर्वाचित
दमक/ डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। फाल्गुन ७ गते आयोजित उक्त विशेष समारोहले डिपीएल टिन्स बोर्ड दमक–२०२६ का लागि अप्सन खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोजीत बस्नेत, महासचिवमा उपमा राउत र कोषाध्यक्षमा सुप्रीम पाण्डे चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष पदको जिम्मेवारी रिश्ता खड्का र अमिस पौडेलले प्राप्त गर्नुभएको छ। संस्थाको गतिविधिलाई प्राविधिक तथा रचनात्मक रूपमा अगाडि बढाउन निर्देशकहरूको रूपमा अप्सना बस्नेत, रक्षा प्रसाई, सुजल श्रेष्ठ र अंशु निरौलालाई नियुक्त गरिएको छ भने सदस्यहरूमा श्रीबिना राई र प्राप्ति दाहाल रहनुभएको छ।नवनिर्वाचित अध्यक्ष अप्सन खनालले पदभार ग्रहण गर्दै संस्थाको गरिमालाई उच्च राख्ने र आगामी दिनमा सामाजिक तथा संस्थागत क्रियाकलापलाई थप सक्रिय एवं प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका वक्ताहरूले नयाँ कार्यसमितिले युवाहरूको नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा नवीन योजनाहरू ल्याउँदै दमक क्षेत्रमा संस्थाको उपस्थितिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। नयाँ कार्यसमितिको आगमनसँगै डिपीएल टिन्स बोर्डले सामाजिक रूपान्तरण र युवा सशक्तिकरणमा नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।
रिलायन्स अंग्रेजी माध्यमिक विद्यालयमा ‘आरम्भ ३.०’ विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न
मिक्लाजुङ गाउँपालिका वडा नं. ७ स्थित रिलायन्स अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित तीन दिने विज्ञान प्रदर्शनी ‘आरम्भ ३.०’ तथा ‘कोशी यन्त्र ४.० (Robo Scorer)’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सोमबार मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले एक विशेष समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले विद्यालयले आयोजना गरेको यस कार्यक्रमको प्रशंसा गर्दै यस्ता प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै समयसापेक्ष र व्यवहारिक शिक्षा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो।विद्यालयका संस्थापक प्रिन्सिपल शुवास राईका अनुसार प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न विधामा कुल १११ वटा स्टलहरू राखेका थिए। तीन दिनसम्म चलेको उक्त प्रदर्शनीमा मिक्लाजुङ गाउँपालिकाका साथै छिमेकी उर्लाबारी र दमक क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावकहरूले उत्साहजनक रूपमा अवलोकन गरेका थिए। कार्यक्रममा मिक्लाजुङ-७ का वडाध्यक्ष शुशीलराज चौहान, वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) तथा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष जय बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो।प्रदर्शनीको तेस्रो दिन आयोजित समापन समारोहमा मिक्लाजुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीनाथ खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि खनालले विद्यार्थीहरूद्वारा प्रस्तुत वैज्ञानिक मोडेल र सिर्जनात्मक प्रस्तुतिहरूको उच्च प्रशंसा गर्दै उनीहरूको हौसला र आत्मविश्वास अभिवृद्धि गरिदिनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा नवप्रवर्तन र प्रविधिप्रति रुचि जगाउनुका साथै उत्कृष्टताको लक्ष्यतर्फ अघि बढ्न ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।समापनको अवसरमा विद्यालय परिवारले आफ्नो निमन्त्रणा स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण अतिथिगण, अभिभावक र सहयोगी संस्थाहरूप्रति हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गरेको छ। पी.आइ. एनोभेसनको सहकार्यमा सम्पन्न यस उत्सवले विद्यार्थीहरूमा नयाँ ऊर्जा र दृढ आत्मविश्वास पैदा गरेको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।
दमकमा ३ दिने ‘दल नायक तालिम’ सम्पन्न
दमक, झापा । दमक स्थानीय स्काउट कार्यालयको आयोजनामा सञ्चालित तीन दिने 'दल नायक तालिम २०८२' भव्य रूपमा सम्पन्न भएको छ। दमक-२ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा गत फागुन १ गतेदेखि सुरु भएको उक्त तालिम फागुन ३ गते एक विशेष समारोहका बीच सम्पन्न भएको हो।समापन कार्यक्रम सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेश प्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। तालिममा दमक स्थानीय प्रमुख आयुक्त साजन श्रेष्ठ र राष्ट्रिय प्रशिक्षक शकुन्तला सुब्बाले कोर्ष लिडरको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। समापन सत्रमा बोल्दै राष्ट्रिय प्रशिक्षक सुब्बाले दमक तथा झापा स्काउटको ऐतिहासिक पृष्ठभूमि र यसको महत्वबारे प्रकाश पार्नुभएको थियो।तालिममा दमक नगरपालिकाका १६ दल र पथरी शनिश्चरे नगरपालिकाका ४ दल गरी कुल २० दलको सहभागिता रहेको थियो। जसमा १७ छात्रा र १७ छात्र गरी जम्मा ३४ जना स्काउटहरूले सक्रियतापूर्वक भाग लिएका थिए। तीन दिनसम्म चलेको यस तालिममा सहभागीहरूलाई व्यवहारिक शिक्षा, व्यक्तित्व विकास, र प्रभावकारी रूपमा दल सञ्चालन गर्ने सम्बन्धी विभिन्न सीपहरू सिकाइएको थियो।समापनका अवसरमा सहभागी स्काउटहरूले तालिमबाट प्राप्त अनुभव र यसले आफ्नो व्यक्तित्व विकासमा पुर्याएको फाइदाबारे धारणा राखेका थिए। स्काउटिङ अभियानलाई स्थानीय तहमा थप सुदृढ बनाउन र दक्ष नेतृत्व उत्पादन गर्न यो तालिम प्रभावकारी रहने आयोजकको विश्वास छ।