सर्वोदय ईङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलको १८ औँ वार्षिकोत्सव सम्पन्न
दमक–५ स्थित सर्वोदय ईङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर 'सर्वोदय गट ट्यालेन्ट २०८२' को ग्राण्ड फिनाले विद्यालयकै प्राङ्गणमा भव्यताका साथ सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सुवेदीको सभापतित्वमा आयोजित उक्त समारोहमा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। १२०० भन्दा बढी अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा प्रधानाध्यापक नवीन योगीले स्वागत मन्तव्य राख्दै विद्यालयको प्रगति प्रतिवेदन तथा भावी योजनाहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले सर्वोदय स्कुलले दमकका विभिन्न नगरस्तरीय क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको र यो विद्यालय निजी क्षेत्रको एक नमूना शैक्षिक संस्थाको रूपमा स्थापित भएको बताउनुभयो। सो अवसरमा विशिष्ट अतिथिका रूपमा नगर शिक्षा समिति संयोजक कुबेर भट्टराई, दमक शिक्षा अधिकृत सोम गुरागाईं र दमक वडा नं. ५ का अध्यक्ष इन्द्र गुरुङको उपस्थिति रहेको थियो। विद्यालयका सहायक प्रधानाध्यापक विष्णु पराजुलीले पनि कार्यक्रममा आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रमको आकर्षक सञ्चालन शिक्षक ईश्वर खनाल र विद्यार्थी श्रीबिना राईले संयुक्त रूपमा गर्नुभएको थियो।
समारोहमा यस वर्षको 'उत्कृष्ट शिक्षक' विधाबाट ईश्वर खनाललाई सम्मान गरिएको थियो भने विद्यालयको स्थापना कालदेखि नै सेवा पुर्याउँदै आउनुभएकी सबैभन्दा पुरानो कर्मचारी झुमा ओझालाई दोसल्ला ओढाई विशेष सम्मान गरिएको थियो। विद्यार्थीहरू तर्फ कक्षा ९ की सुम्निमा खाजुमले 'स्टुडेन्ट अफ द इयर' र कक्षा ९ कै श्रीबिना राईले 'परफर्मर अफ द इयर' को उपाधि प्राप्त गरे। 'सर्वोदय गट ट्यालेन्ट २०८२' को फाइनल अन्तर्गत नृत्यतर्फ दिप्सना कुँवर प्रथम, अखिरा अधिकारी द्वितीय र सेमिना राई तृतीय भए। त्यस्तै, गायनमा ज्याकलिन मैनाली, दिक्षिता मिश्र र रोहन सिटौलाले उत्कृष्ट प्रस्तुति दिएका थिए भने चित्रकला विधामा खुस्बु लिम्बूको प्रतिभा प्रशंसनीय रहेको थियो।