सर्वोदय स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई रचनात्मक बिदाई

O
ourdamak २०८३ बैशाख ३
Reads
सर्वोदय स्कुलद्वारा कक्षा १२ का विद्यार्थीलाई रचनात्मक बिदाई

दमक, झापा । झापाको दमक-५ मा अवस्थित सर्वोदय इङलिस बोर्डिङ स्कुलले आफ्ना कक्षा १२ का विद्यार्थीहरूलाई परम्परागत शैलीभन्दा भिन्न र रचनात्मक ढंगले बिदाई गरेको छ। विद्यालयले विद्यार्थीहरूको बिदाईलाई यादगार र अर्थपूर्ण बनाउन दुई दिने 'बिदाई तथा पुनर्ताजगी भ्रमण' को आयोजना गरी उनीहरूलाई सुखद बिदाइ गरेको हो।

इलामको प्रसिद्ध पर्यटकीय स्थल श्री अन्तु र कन्यामको दुई दिने भ्रमणका क्रममा विद्यार्थीहरूले प्राकृतिक सौन्दर्यको अवलोकन गर्नुका साथै सामूहिक रूपमा खुसी साटासाट गरेका थिए। भ्रमणको पहिलो दिन श्री अन्तुमा सूर्योदयको मनमोहक दृश्य अवलोकन गरेका विद्यार्थीहरूले दोस्रो दिन कन्यामको रमणीय चिया बगानमा विशेष बिदाई कार्यक्रमको आयोजना गरेका थिए।

उक्त कार्यक्रममा विद्यालयका सह-प्राधानाध्यापक विष्णु पराजुली, लेखा शाखा प्रमुख सुजन कार्की तथा अन्य शिक्षकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षकहरूले विद्यार्थीहरूलाई आगामी उच्च शिक्षा र उज्ज्वल भविष्यको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।

विद्यालयको चार पर्खालभित्र मात्र सीमित नरही प्रकृतिसँग घुलमिल गराउँदै बिदाई गर्दा विद्यार्थीहरूमा नयाँ उत्साह र ऊर्जा थपिने विश्वास विद्यालय प्रशासनले लिएको छ। यता विद्यार्थीहरूले पनि यस किसिमको भ्रमणसहितको बिदाईले आफूहरूबीचको सम्बन्ध अझ प्रगाढ बनेको र यो क्षण जीवनभर यादगार रहने बताएका छन्।

सर्वोदय स्कुलले विद्यार्थीहरूको चौतर्फी विकास र मानसिक स्फूर्तिका लागि विगतदेखि नै यस्ता रचनात्मक क्रियाकलापहरूलाई प्राथमिकता दिँदै आएको छ।

Share this story:

Comments