समाचार
घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताउनुभएको हो ।“आज म अत्यन्तै भारी मन लिएर तपाईँहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ”, उहाँले भन्नुभएको छ ।प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ९५ जनाले ज्यान गुमाइसक्नुभएको छ । “म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईँहरूको यो असह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु”, उहाँले भन्नुभएको छ । उहाँले दुःखद् खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको समेत उल्लेख गर्नुभएको छ ।बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिएको उहाँको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो ।प्रधानमन्त्री शाहका अनुसार घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइसकिएको छ । आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता सङ्घसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ ।बाढीग्रस्त क्षेत्रका सङ्घीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौँ । घाइतेहरूको थप विवरण सङ्कलन गर्ने काम अझै निरन्तर जारी छ ।यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ । घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिनेछ । आज रातभर पनि उद्धार कार्य जारी नै रहने उहाँको भनाइ छ ।“नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ उहाँको भनाइ छ ।प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईँहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईँहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईँहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईँहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।” यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुन आग्रह गर्दै उहाँले सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध समेत गर्नुभएको छ । रासस
भोटेकोशी बाढी: हालसम्म ९५ जनाको मृत्यु
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ ९पहिचान नखुलेको० गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना ९पहिचान नखुलेको०को शव फेला परेको छ । चितवनमा १० महिला, १० पुरुष, २ बालिका, ३ बालक र ८ जना (पहिचान नखुलेका)को शव भेटिएको छ । प्रहरीका अनुसार तनहुँमा ३ जना पुरुष, १ जना बालिका र १ जना बालकको शव फेला परेको छ भने नवलपरासीपूर्वमा ८ जना पुरुष र ३ जना बालिकाको शव फेला परेको छ । ६३ जना उपचाररतनेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ७ जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा १ जना, रसुवा अस्पतालमा २१ जना र त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा ३, ग्रीनसिटी अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।नेपाल प्रहरीका अनुसार टिमुरेबाट १०, रसुवागढीबाट , स्याफ्रुबेँसीबाट ३, मैलुङबाट ५, बेत्रावतीबाट एक जना र हाकुबाट एक जना गरी २ जना प्रहरी सम्पर्कविहीन छन् । रासस
राष्ट्रपतिद्वारा उद्धार, खोज र राहतमा सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्रीलाई आग्रह
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकाेशी नदीमा आएको बाढी पहिरोले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ ।राष्ट्रपति पौडेलले आज साँझ टेलिफोन कुराकानीमा प्रधानमन्त्री शाहसँग रसुवा बाढी पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी लिँदै पीडामा परेका जनताको उद्धार, राहत र खोज कार्यलाई तीव्रता दिन राज्यका सबै अङ्ग परिचालनका लागि आग्रह गर्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री शाहले रसुवामा आएको बाढीले पारेको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी दिँदै सरकारले नागरिकको सहयोग, उद्धार राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गरी हर सम्भव सबै सहयोग जुटाउन कुनै कमी नगर्ने जानकारी दिनुभएको पनि प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात् आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको थियो । उहाँले विपद्को यस घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था, सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई आव्हान गर्नुभएको थियो । साथै, तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तक रहँदै आवश्यक समन्वय एवम् सहयोगमा जुट्न पनि उहाँले आग्रह गर्नुभएको थियो
३४ वर्षमा पनि अधुरै दमक–चिसोपानी सडक, स्थानीयलाई सास्ती
दमक | झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि पूर्णरुपमा कालोपत्र हुन सकेको छैन। २०४९ सालमा निर्माण सुरु गरिएको यो सडक झापा, इलाम र पाँचथर जोड्ने महत्वपूर्ण मार्ग भए पनि लामो समयदेखि अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।दमकको जिरो प्वाइन्टदेखि चिसोपानी पञ्चमीसम्म करिब ३३ किलोमिटर सडक रहेकामा हालसम्म करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ। करिब एक किलोमिटर सडक कालोपत्रको चरणमा छ भने बाँकी अधिकांश सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ।सडकको अवस्था वर्षायाममा झनै दयनीय बन्ने गरेको स्थानीय बताउँछन्। लगातारको वर्षाका कारण ठाउँठाउँमा खाल्डाखुल्डी पर्नुका साथै सडकमा पानी जम्ने र हिलो हुने भएकाले यात्रु तथा सवारीसाधनलाई आवतजावतमा कठिनाइ हुने गरेको छ। दैनिक सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन यही सडक भएर सञ्चालन हुने गरेका छन्।माङसेबुङ–३ का निवर्तमान वडाध्यक्ष मैतराज राईका अनुसार वर्षायाममा मोटरसाइकलसमेत सञ्चालन गर्न कठिन हुन्छ भने हिउँदमा धुलोका कारण सडक आसपासका बासिन्दा प्रभावित हुने गरेका छन्। सडक निर्माणको ट्रयाक खोल्ने क्रममा आफूहरुले समेत श्रमदान गरेको स्मरण गर्दै उहाँले तीन दशकभन्दा बढी समय बित्दा पनि सडक पूरा नहुनु दुःखद भएको बताउनुभयो।दमक–चिसोपानी सडक पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। यस मार्ग हुँदै तीनथुम्बे र माङमालुङ डाँडा, गजुरमुखी धाम, सहिद रत्नकुमार वान्तवा सहादतस्थल तथा किरात धर्मावलम्बीको महत्वपूर्ण धार्मिक केन्द्र लारुम्बा पुग्न सकिन्छ। सडकको अवस्था कमजोर हुँदा पर्यटक तथा धार्मिक स्थलमा जाने यात्रुलाई समेत समस्या हुने गरेको स्थानीयको भनाइ छ।सडक निर्माण पूरा नहुँदा माङसेबुङ, फाकफोकथुम, देउमाई तथा पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तम्बेवा र कुम्मायक क्षेत्रका नागरिकलाई झापा आवतजावत गर्न कठिनाइ छ। कृषि उत्पादन बजारसम्म पुर्याउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको छ।ठेक्का लागे पनि काम अधुरैसडकको पहिलो खण्डअन्तर्गत दमकको जिरो प्वाइन्टदेखि मार्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्र गर्न २०७५ साउन २९ गते महालक्ष्मी–किरातेश्वर जेभीसँग ठेक्का सम्झौता भएको थियो। ३० महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि आठ वर्ष बित्दा करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ।२२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा भएको उक्त ठेक्काको म्याद पटकपटक थपिए पनि काम पूरा हुन सकेन। अन्तिमपटक थपिएको म्याद २०८० असार मसान्तमै सकिएको हो। अहिले ठेकेदार कम्पनीले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताउनुभयो। उहाँका अनुसार अब करिब एक किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ।यसैगरी सडकको दोस्रो १५ किलोमिटर र तेस्रो ११ किलोमिटर खण्ड निर्माण तथा कालोपत्रका लागि लुम्बिनी–गणपति जेभीसँग ठेक्का सम्झौता भएको थियो। दुवै खण्डको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि म्याद थपिएको थियो। थपिएको अवधिमा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा करिब २८ प्रतिशत काम भएपछि ठेकेदार कम्पनीले काम छाडेको थियो।काम रोकिएपछि सरकारले २०८० चैत १३ गते लुम्बिनी–गणपति जेभीसँगको ठेक्का सम्झौता रद्द गरी बैंक ग्यारेन्टी जफत गरेको थियो। त्यसविरुद्ध कम्पनीले अदालतमा मुद्दा दायर गरे पनि उच्च अदालत पाटनले रिट खारेज गरिदिएको थियो। जिल्ला अदालत झापाबाट भने विवाद मध्यस्थतामार्फत समाधान गर्न आदेश भएको सडक डिभिजनले जनाएको छ।नयाँ ठेक्काबाट काम अघि बढाउने तयारीपुरानो ठेक्का रद्द भएपछि सरकारले दमक–चिसोपानी सडकको बाँकी करिब २६ किलोमिटर कालोपत्रका लागि गत असार ५ गते नयाँ ठेक्का आह्वान गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ बाटै निर्माण सुरु गर्ने तयारी रहेको सडक डिभिजन दमकका प्रमुख इन्जिनियर यादवले बताउनुभयो।नयाँ ठेक्काका लागि १९ वटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेका छन्। अहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको र त्यसपछि आर्थिक प्रस्ताव खोलिने जनाइएको छ। संघीय सरकारले सडक निर्माणका लागि एक अर्ब ६४ करोड रुपैयाँको स्रोत सहमति दिएको छ भने चालु आर्थिक वर्षका लागि १२ करोड रुपैयाँ विनियोजन भएको छ।वर्षौंदेखि सडक निर्माणको आश्वासन पाउँदै आएका स्थानीय भने नयाँ ठेक्कापछि यसपटक सडक निर्माणले गति लिनेमा आशावादी छन्। माङसेबुङ–२ का मिलन लिम्बूले लामो समयदेखि सडक बन्ने आश्वासन मात्र पाउँदै आएको बताउँदै अब निर्माण कार्यलाई निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताउनुभयो।वर्षाका कारण हेभी सवारीमा रोकवर्षाका कारण सडक क्षतिग्रस्त भएपछि माङसेबुङ गाउँपालिकाले सडकको आफ्नो क्षेत्रमा हेभी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। ट्रक, टिप्पर, ट्रेलर तथा अन्य भारी क्षमताका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ। अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक नलगाइएको जनाइएको छ।सडक मर्मतसम्भारका लागि इलामका माङसेबुङ र फाकफोकथुम तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले संयुक्त रुपमा काम सुरु गरेका छन्। माङसेबुङले १५ लाख, फाकफोकथुमले सात लाख र मिक्लाजुङले आठ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँको लागतमा सडक मर्मत भइरहेको छ।माङसेबुङ–३ भञ्ज्याङदेखि माङसेबुङ–२ को माङबालुङसम्मका बढी समस्याग्रस्त स्थानमा खाल्डाखुल्डी पुर्ने र ग्राभेल गर्ने काम भइरहेको छ। स्थानीयका अनुसार सडक स्तरोन्नति भएर नियमित रुपमा सञ्चालनमा आए झापा, इलाम र पाँचथरका हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ। सडक निर्माण सम्पन्न भए यस क्षेत्रको व्यापार, पर्यटन र कृषि गतिविधिमा समेत उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशकभन्दा बढी समय बितिसकेको छ। पटकपटक ठेक्का लाग्ने, म्याद थपिने र काम रोकिने क्रम दोहोरिँदै आएको यो सडक अब नयाँ ठेक्कामार्फत कहिलेसम्म पूर्ण हुन्छ भन्ने विषय स्थानीयका लागि मुख्य चासो बनेको छ।स्रोत: रासस
युवा जागरण दौडमा दमक–६ का सरोज सिंह प्रथम
दमक। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मिक्लाजुङमा आयोजित युवा जागरण दौड प्रतियोगिता सम्पन्न भएको छ। रास्वपा मिक्लाजुङको आयोजनामा भएको प्रतियोगितामा दमक–६ का सरोज सिंहले प्रथम स्थान हासिल गरेका छन्।प्रतियोगितामा सोनम तामाङ दोस्रो, मनोज गदाल तेस्रो र सागर लिम्बू चौथो भएका छन्। मिक्लाजुङसहित आसपासका क्षेत्रबाट ४२ जना युवाले प्रतियोगितामा सहभागिता जनाएका थिए।प्रथम भएका सरोज सिंहले रु. ६,५५५, द्वितीय सोनम तामाङले रु. ४,३३३, तृतीय मनोज गदालले रु. ३,२२२ तथा चौथो सागर लिम्बूले रु. २,१११ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले प्रतियोगिताको उद्घाटन गरेका थिए। युवालाई खेलकुदसँग जोड्दै सक्रियता, अनुशासन र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।कार्यक्रमका लागि युवा व्यवसायी छत्र डाँगीले रु. १० हजार तथा मोरङ क्षेत्र नं. १ की समानुपातिक सांसद रजनी श्रेष्ठले रु. ५ हजार सहयोग गरेका थिए।यस्तै, १० वर्षभन्दा कम उमेरका सहभागी आहान, आरब श्रेष्ठ र रामेश्वर गोस्वामीलाई हौसला बढाउन जनही रु. ५०० प्रदान गरिएको थियो। रास्वपा मिक्लाजुङका सभापति उपेन लिम्बूले युवाहरूको उत्साहजनक सहभागिताले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्न प्रेरणा मिलेको बताए।
दमक–४ मा २५ वर्षीय युवक मृत फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
दमक। झापाको दमक नगरपालिका–४ स्थित भट्टराई मन्दिर दक्षिणतर्फको क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय २५ वर्षीय युगल पसाई रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ। दमक–४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालले दिएको जानकारीअनुसार ती युवक रुखमा झुन्डिएको अवस्थामा भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। अहिले प्रहरी टोली घटनास्थलमै रहेर मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ।युवकको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाइसकेपछि शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ। प्रहरीको विस्तृत अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाको वास्तविक तथ्य बाहिर आउने जनाइएको छ। यस विषयमा थप विवरण आउन बाँकी रहेको छ।
देवानगञ्ज घटनामा ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने, परिवारलाई जनही १० लाख राहत
दमक। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच शुक्रबार बिहान ६ बुँदे सहमति भएको छ। रातभर चलेको वार्तापछि बिहान करिब ५:१५ बजे सहमतिपत्रमा हस्ताक्षर भएको हो।सहमतिपत्रअनुसार नेपाल सरकारले मृतकहरूलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने उल्लेख गरिएको छ।त्यस्तै, २०८३ साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ। घटनास्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयवस्तुबारे आवश्यक छानबिन तत्काल सुरु गरिने पनि सहमतिमा उल्लेख छ।सहमतिअनुसार प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ।यस्तै, मृतकहरूको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ। गृहमन्त्री सुदन गुरुङ र मृतक दुवै परिवारका अभिभावकबीच भएको उक्त सहमतिपत्रमा शुक्रबार बिहान हस्ताक्षर गरिएको हो। सहमतिसँगै घटनापछि उत्पन्न तनाव समाधानतर्फ अघि बढेको बताइएको छ।
दमकको आम्दा अस्पतालमा जर्मन प्रविधिको डायलसिस सेवा सुरु
झापाको दमकस्थित आम्दा अस्पतालमा मिर्गौला रोगीका लागि औपचारिक रूपमा डायलसिस सेवा सञ्चालनमा आएको छ।यससँगै लामो समयदेखि मिर्गौलाको समस्या झेल्दै आएका झापा, मोरङ र इलाम लगायत आसपासका बिरामीहरूलाई ठूलो राहत मिलेको छ। यसअघि डायलसिसका लागि भद्रपुर तथा विराटनगरसम्म धाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ।अस्पतालले जर्मन प्रविधिका १० वटा आधुनिक मेसिन जडान गरी दैनिक ३० जनासम्म बिरामीलाई सेवा दिने क्षमतासहित यो प्रविधि सुरु गरेको हो। साथै, आइसियु र विशेषज्ञ सेवासहित दक्ष स्वास्थ्यकर्मीको समूह परिचालन गरिएको छ।आम्दा अस्पतालका डायलसिस म्यानेजर राकेश सिंहका अनुसार बिरामीहरूलाई सरकारी दररेटमै यो भरपर्दो सेवा उपलब्ध गराइएको छ।थप जानकारी तथा सेवाका लागि दमक खर्खरे स्थित आम्दा अस्पतालमा रहेको ओम साई पाथीभरा हस्पिटलको डायलसिस शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।सम्पर्क नम्बरहरू: ९८५२६२३९२३, ९८५२६२३०३७, र ९८२२३७७६३६।
दमकको सनराइज मोडल स्कुलद्वारा मलामीका लागि निःशुल्क बस सेवा
आवर दमक | दमक, झापा: झापाको दमक नगरपालिका वडा नं. २ स्थित सनराइज मोडल स्कुलले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत एक प्रशंसनीय तथा मानवीय कार्यको थालनी गरेको छ। विद्यालयले आफ्नो वडाभित्र कसैको निधन भई शोक पर्दा मलामी जानका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने घोषणा गरेको हो।विद्यालयका प्रिन्सिपल जनार्दन मैनालीका अनुसार विद्यार्थीहरूलाई बिहान नियमित रूपमा स्कुल पुर्याइसकेपछि बिहान १० बजेपछि यो निःशुल्क बस सेवा उपलब्ध गराइनेछ। दुःखको घडीमा स्थानीय नागरिकहरूलाई व्यावहारिक तथा आर्थिक राहत पुर्याउने र सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्णय गरिएको विद्यालय परिवारले जनाएको छ।प्रिन्सिपल मैनाली र विद्यालय परिवारको यो कदमको सामाजिक सञ्जाललगायत दमक क्षेत्रमा चौतर्फी प्रशंसा भइरहेको छ। स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ-संस्थाहरूले यसलाई अनुकरणीय कार्य भन्दै बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्।यस उदाहरणीय कार्यबाट पाठ सिक्दै दमक क्षेत्रमा सञ्चालित अन्य विद्यालय, कलेज, बैङ्क तथा निजी संस्थाहरूले पनि नाफा कमाउने उद्देश्यमा मात्र सीमित नरही आ-आफ्नो तर्फबाट यस्तै सामाजिक जिम्मेवारी वहन गर्नुपर्ने आवाज उठ्न थालेको छ। सम्पूर्ण क्षेत्रका संस्थाहरू यसरी नै सामाजिक सेवामा अग्रसर भएमा समग्र दमक नगर सिङ्गो देशकै लागि एक नमुना र समृद्ध समाज बन्ने स्थानीयको विश्वास छ।दमक-२ भित्र शोक परेको समयमा निःशुल्क बस सेवाका लागि विद्यालयको आधिकारिक नम्बर ९८५-२६८७६६६ मा सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।
गणतन्त्र राष्ट्र निर्माण एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको बताएका छन् ।राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा रहेको बताएका हुन् ।‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ । यसले समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ । किनभने यसले आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ । त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो’, उनले भने।उनले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्य–मान्यता एवम् आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्नुपर्ने बताए ।राष्ट्रपति पौडेलले गणतन्त्र फगत एक व्यवस्था नभइ यो आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति पनि रहेको बताए ।‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौ, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्’ उनले भने ।मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको र यसले जनताको चाहनाअनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रुपमा अगाडि बढाउने निर्णय गरेको उनले उल्लेख गरे । साथै, उनले शासकीय सुधारका एक सय कार्यसूचिलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानूनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गरे ।‘हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षाहरू पूरा हँुंदैनन्, यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन’, राष्ट्रपति पौडेलले भने ।उनले आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरु कोही होइन, ढिलासुस्ती, अनियमितता र वेथिति भएको बताए ।उनले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनैै वेथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ भन्नेमा जोड दिए।उनले नागरिकले सुशासनसहितको समृद्धि खोजेका छन् भन्दै यसका लागि हाम्रा स्रोतहरूको उच्चतम् प्रयोग गर्न आवश्यक भएको बताए ।राष्ट्रपति पौडेलले, ‘आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न सक्छौं । यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो । यो अर्थमा आजको दिनले आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौ।’राजनीतिक उपलब्धिहरू मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन भन्दै उनले हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ र राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने धारणा व्यक्त गरे ।‘गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्दछु’, उनले भने ।हामीले प्राप्त उपलब्धीलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्ने उनको भनाइ थियो । साथै, प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक सम्बृद्धि सुनिश्चित गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए ।संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले अधिकारका विभिन्न प्रकार उल्लेख गरेपनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय भएको धारणा व्यक्त गरे ।
लुम्बिनी प्रदेशका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेन्डामा जोड
प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग सिंहदरबारमा विस्तृत छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा भएको उक्त बैठक बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो ।छलफलमा चालु आर्थिक वर्ष २०८२ र ८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक विषयहरूमा व्यापक बहस भएको थियो । सहभागी सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना तथा योजनाहरू प्रस्तुत गरेका थिए । छलफलमा अधिकांश सासदहरुले कपिलवस्तु केन्द्रित विकास प्रस्ताव गर्नु भएको थियो । कपिलवस्तु–२ का सांसद विक्रम थापाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तिलौराकोटलाई “स्मार्ट हेरिटेज सिटी” को रूपमा विकास गर्न प्रस्ताव राख्नुभएको थियो । सो योजनाअन्तर्गत तिलौराकोटलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, डिजिटल प्रविधिमार्फत ऐतिहासिक अनुभव गराउने तथा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि सार्नु भएको थियो । यसै गरी, वाणगंगा नदी नियन्त्रण, ५४ किलोमिटर तटबन्ध निर्माण, तथा भारत सरकारको अनुदान सहयोगमा स्वीकृत डीपीआर कार्यान्वयनमा लैजान माग गरिएको थियो ।कृषि क्षेत्रमा कपिलवस्तुमा करिब ६० हजार मेट्रिक टन मल आवश्यक रहे पनि आपूर्ति अत्यन्त न्यून रहेको उल्लेख गर्दै तत्काल आपूर्ति व्यवस्थापनको माग गरिएको छ । उक्त छलफलमा अधिकांश सांसदहरूले बाँदरको कारण उत्पन्न समस्याबारे उठाउनुभएको थियो। उक्त समस्या समाधानका लागि विभिन्न निकाय र विज्ञहरूसँग छलफल गरी समाधानका लागि काम गर्दै आएको गुल्मी क्षेत्र नम्बर १ का सांसद सागर ढकालले बताउनुभएको थियो।सोमबार भएको छलफलमा प्राय सबै सासदहरुले सिँचाइ, खानेपानी र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनु भएको थियो । जगदीशपुर तालको क्षमता घट्दै गएको भन्दै यसको पुन: संरचना गरी करिब ६२ सय हेक्टर जमिनमा सिँचाइ विस्तार गर्नुपर्ने विषय उठाइएको छ ।त्यसैगरी, कपिलवस्तुका विभिन्न पालिकामा आर्सेनिकयुक्त पानीको गम्भीर समस्या रहेको औँल्याउँदै करिब ३० देखि ४५ हजार नागरिक प्रत्यक्ष जोखिममा रहेको गुनासो पनि उक्त छलफलमा उठेको थियो । तत्काल पानी परीक्षण, फिल्टर जडान र दीर्घकालीन रूपमा सतह पानीमा आधारित खानेपानी आयोजना सञ्चालन गर्नुपर्ने माग गरिएको छ । कपिलवस्तु जिल्लामा ७० हजारभन्दा बढी भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी रहेकाले उनीहरूको व्यवस्थापनको विषयमा पनि कुरा उठेको थियो । भूमिहीन, सुकुम्वासी व्यवस्थापनका लागि लालपुर्जा वितरण, एकीकृत बस्ती विकास तथा उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव अधिकाधिक सासदहरुले राख्नु भएको थियो । लुम्बिनीदेखि तिलौराकोटसम्म २२ किलोमिटर चार लेन सडक तथा मर्यादपुर–तिलौराकोट सडक निर्माणको आवश्यकताका बारेमा पनि सासदहरुले कुरा उठाउनु भएको थियो ।पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा हुँदै सल्यान जोड्ने रणनीतिक सडकलाई प्राथमिकतामा राख्न पाल्पाका सांसद सन्दीप रानाले माग गर्नुभयो । साथै, कालिगण्डकी करिडोर, रिङरोड, ग्रामीण सडक स्तरोन्नति तथा पर्यटन मार्ग विकासका विषय पनि उठाउनु भएको थियो । नवलपरासी–२ का सांसद नरेन्द्र कुमार गुप्ताले रामग्राम स्तूप, देवदह लगायत बौद्ध तथा ऐतिहासिक क्षेत्रहरूको एकीकृत विकासको प्रस्ताव गर्नुभयो ।सांसदहरूले मल अभाव, सिँचाइ समस्या, कृषि आधुनिकीकरण, “एक वडा–एक उत्पादन” नीति लागू गर्नुपर्ने माग राख्नु भएको थियो ।शिक्षा क्षेत्रमा प्राविधिक शिक्षालय, डिजिटल शिक्षण प्रणाली तथा विश्वविद्यालय स्तरोन्नतिका विषय उठाइएको छ भने स्वास्थ्य क्षेत्रमा अस्पताल स्तरोन्नति, ट्रमा सेन्टर स्थापना र विशेषज्ञ सेवा विस्तारको माग गरिएको छ । यस्तै, बाँकेका सांसद मोहम्मद इश्तियाक राईले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सरकारको विशेष पहल आवश्यक रहेको बताउनुभयो । सीमावर्ती क्षेत्रमा अपराध नियन्त्रण तथा निगरानी सुदृढ गर्नुपर्नेमा समेत उहाँले जोड दिनु भएको थियो । कपिलवस्तुको चुरे–भावर क्षेत्र संरक्षणसँगै पर्यटन विकास गर्ने नीति आवश्यक रहेको उल्लेख गरिएको छ । इको–टुरिजम, ट्रेकिङ, होमस्टे तथा जडीबुटी आधारित अर्थतन्त्र विकास गर्ने सम्भावना प्रस्तुत गरिएको छ । छलफलमा सुशासन प्रवर्द्धनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुनर्संरचना, स्वतन्त्र भ्रष्टाचार नियन्त्रण निकाय गठन तथा अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गर्ने विषय पनि सासदहरुले कुरा उठाउनु भएको छ । प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संघ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्दै लुम्बिनी प्रदेशको समग्र विकासलाई अघि बढाउने निष्कर्षसहित बैठक सम्पन्न भएको थियो ।
झापाबासीलाई गाली गर्ने रवि चुँडालविरुद्ध किटानी जाहेरी: प्रहरीद्वारा खोजी कार्य तीव्र
दमक, झापा । झापा क्षेत्र नम्बर ५ को निर्वाचन परिणामपछि सामाजिक सञ्जालमार्फत झापाबासी र विशेषगरी दमकका बासिन्दाहरूलाई लक्षित गरी घृणास्पद एवं अपमानजनक अभिव्यक्ति दिने रवि चुँडाल (हरि प्रसाद चुँडाल) विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा औपचारिक रूपमा किटानी जाहेरी दर्ता गरिएको छ।दमकका स्थानीय युवाहरू पारसमणि आचार्य र शेखर खड्काले संयुक्त रूपमा चुँडालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुर तथा सार्वजनिक नैतिकता विरुद्धको अपराधअन्तर्गत कारबाहीको माग गर्दै जाहेरी दिनुभएको हो। जाहेरी दर्ता भएको २९ घण्टा बितिसक्दा प्रहरीले चुँडालको खोजी कार्यलाई तीव्रता दिएको जानकारी प्राप्त भएको छ।के हो मुख्य घटना?गौरादह नगरपालिका वडा नं. ५ निवासी चुँडालले टिकटक, फेसबुक र युट्युब जस्ता माध्यमबाट भिडिओ सार्वजनिक गर्दै दमकबासीलाई 'चोर', 'अपराधी' र 'दुष्ट' जस्ता निकै तल्लो स्तरका शब्द प्रयोग गरी गालीगलौज गरेका थिए। यसअघि बालेन शाहले चुनाव जिते 'दिसा खाने' भनी चर्चामा आएका उनले यसपटक सामाजिक सद्भावमा खलल पुर्याउने गरी अभिव्यक्ति दिएपछि दमकका युवाहरू कानुनी उपचारमा उत्रिएका हुन्।साइबर अपराधमा पनि उजुरी प्रहरी कार्यालयमा बुझाइएको जाहेरीमा चुँडालले प्रयोग गरेका शब्दहरूले समाजमा सुन्नै नसकिने र जातजाति एवं सम्प्रदायबीचको मधुर सम्बन्धलाई बिगार्ने प्रयास गरेको उल्लेख छ। यस विषयलाई साइबर क्राइम ब्यूरोमा समेत दर्ता गराइएको छ।जाहेरीकर्ताहरूले भन्नुभएको छ, "समाजमा गलत कुरा देख्दा चुप बस्नु पनि गलत नै हो। सत्य र न्यायको पक्षमा उभिनु हाम्रो जिम्मेवारी हो, त्यसैले हामीले यो कानुनी कदम चालेका हौँ।"हाल फरार रहेका चुँडालको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकले विशेष सक्रियता देखाएको छ। प्रहरीले यसलाई गम्भीर साइबर अपराधको रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।
दमकमा ३ दिने ‘दल नायक तालिम’ सम्पन्न
दमक, झापा । दमक स्थानीय स्काउट कार्यालयको आयोजनामा सञ्चालित तीन दिने 'दल नायक तालिम २०८२' भव्य रूपमा सम्पन्न भएको छ। दमक-२ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा गत फागुन १ गतेदेखि सुरु भएको उक्त तालिम फागुन ३ गते एक विशेष समारोहका बीच सम्पन्न भएको हो।समापन कार्यक्रम सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रमेश प्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। तालिममा दमक स्थानीय प्रमुख आयुक्त साजन श्रेष्ठ र राष्ट्रिय प्रशिक्षक शकुन्तला सुब्बाले कोर्ष लिडरको रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। समापन सत्रमा बोल्दै राष्ट्रिय प्रशिक्षक सुब्बाले दमक तथा झापा स्काउटको ऐतिहासिक पृष्ठभूमि र यसको महत्वबारे प्रकाश पार्नुभएको थियो।तालिममा दमक नगरपालिकाका १६ दल र पथरी शनिश्चरे नगरपालिकाका ४ दल गरी कुल २० दलको सहभागिता रहेको थियो। जसमा १७ छात्रा र १७ छात्र गरी जम्मा ३४ जना स्काउटहरूले सक्रियतापूर्वक भाग लिएका थिए। तीन दिनसम्म चलेको यस तालिममा सहभागीहरूलाई व्यवहारिक शिक्षा, व्यक्तित्व विकास, र प्रभावकारी रूपमा दल सञ्चालन गर्ने सम्बन्धी विभिन्न सीपहरू सिकाइएको थियो।समापनका अवसरमा सहभागी स्काउटहरूले तालिमबाट प्राप्त अनुभव र यसले आफ्नो व्यक्तित्व विकासमा पुर्याएको फाइदाबारे धारणा राखेका थिए। स्काउटिङ अभियानलाई स्थानीय तहमा थप सुदृढ बनाउन र दक्ष नेतृत्व उत्पादन गर्न यो तालिम प्रभावकारी रहने आयोजकको विश्वास छ।
पाँचथरको दशमी बजारमा ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला लाग्ने
पाँचथर । पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाको सङ्गम स्थल दशमी बजारमा आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला २०८२ भव्य रूपमा आयोजना हुने भएको छ। दशमी बजार व्यवस्थापन समितिको आयोजना तथा संयुक्त युवा फूलबारी समूह र अरुणिमा युवा क्लबको सह-आयोजनामा लाग्न लागेको यस मेलामा विविध साङ्गीतिक कार्यक्रम र कलाकारहरूको विशेष उपस्थिति रहनेछ। मेलाको मुख्य आकर्षणका रूपमा फागुन ८ गते विशेष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिनेछ, जसमा चर्चित राष्ट्रिय कलाकारहरू अशोक मुकारुङ राई, पवित्रा किराँती, प्रितिका बेघा लिम्बु, अमृत लिम्बु, पारस राई र अनिल थुलुङ लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै 'द भ्वाइस अफ नेपाल'का प्रतिस्पर्धीहरू र स्थानीय कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू समेत सञ्चालन गरिनेछ। फागुन ४ गतेदेखि नै सुरु हुने पुरुष नकआउट फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैयाँ र द्वितीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ, जसमा छिमेकी गाउँपालिकाका वडा स्तरीय टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै फागुन ११ गतेदेखि सुरु हुने ब्याडमिन्टन प्रतियोगितामा विभिन्न लेभलका लागि १५ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। मेलाको कार्यतालिका अनुसार फागुन ७ गते औपचारिक उद्घाटनसँगै विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिनेछ भने ८ गते साङ्गीतिक धमाका र ९ गते समापन समारोहका बीच पुरस्कार वितरण गरिनेछ। ऐतिहासिक प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको यस मेलाले स्थानीय कला, संस्कृति र खेलकुदको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक समितिका अध्यक्ष रवि बहादुर राईले व्यक्त गर्नुभएको छ।
महाशिवरात्रि विशेष: दमकका शिवालयहरूमा भक्तजनको घुइँचो, पशुपति मन्दिरमा विशेष रौनक
दमक, झापा । आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरिने पवित्र पर्व महाशिवरात्रि आज देशभरका शिवालयहरूसँगै दमकमा पनि हर्षोल्लासका साथ मनाइँदैछ। दमकका मुख्य धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ।विशेषगरी दमक-६ मा अवस्थित पशुपति मन्दिर (सिद्धकामेश्वर मुक्तिधाम) र धनेश्वर पाञ्चायन मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको लामो लाइन लागेको छ। मन्दिर परिसरहरूमा शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउँदै दर्शन गर्नेहरूको भिड देखिएको छ। फाल्गुन कृष्ण चतुर्दशीको मध्यरातमा भगवान् शिवको उत्पत्ति भएको विश्वासका साथ आजको दिनलाई 'शिवरात्रि' भनिएको हो।पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज मध्यरातमा चतुर्दशी तिथि परेकाले आइतबार नै महाशिवरात्रि मनाउने निर्णय गरिएको हो। दमकका मन्दिरहरूमा दर्शनार्थीको चापलाई ध्यानमा राख्दै स्वयंसेवक र सुरक्षाकर्मीहरू समेत परिचालन गरिएको छ।
पाथीभरामा सात महिनामा एक लाख १३ हजार बढी भक्तजनद्वारा दर्शन
दमक, झापा । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या चालु आर्थिक वर्षको सात महिनामा एक लाख १३ हजार बढी पुगेको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउनदेखि माघ मसान्तसम्मको अवधिमा कुल १ लाख १३ हजार ४९९ जना भक्तजनले माता पाथीभराको दर्शन गरेका छन्। पाथीभरा दर्शनका लागि मुख्य सिजन मानिने दशैँ र तिहारको समयमा सबैभन्दा बढी भक्तजनको घुइँचो लागेको थियो। समितिको तथ्याङ्क अनुसार कात्तिक महिनामा सबैभन्दा बढी ४२ हजार २६१ जना र असोजमा २९ हजार १७४ जनाले दर्शन गरेका थिए। त्यस्तै मङ्सिरमा १९ हजार १८१, माघमा १० हजार ३२३, पुसमा ५ हजार ९११ र भदौमा ४ हजार ५०३ जना भक्तजन धाम पुगेका थिए भने साउन महिनामा सबैभन्दा न्यून २ हजार १४६ जनाले मात्र दर्शन गरेका थिए।समुद्र सतहदेखि ३,७९४ मिटरको उचाइमा अवस्थित यस धाममा नेपालका विभिन्न जिल्लासहित भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बङ्गालबाट समेत ठूलो सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन्। हिउँद याममा चिसोका कारण दर्शनार्थीको सङ्ख्या केही घटे पनि फागुन लागेसँगै र चैते दशैँ अर्थात् रामनवमी नजिकिँदै गर्दा भक्तजनको चाप पुनः बढ्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो। भक्तजनको आवागमनसँगै पाथीभरामा भेटी सङ्कलन पनि उल्लेख्य भएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा पाथीभरामा कुल २ करोड ६ लाख ८८ हजार १०० रुपियाँ भेटी रकम सङ्कलन भएको समितिले जनाएको छ।