दमक। दमक–५ स्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा सम्मानमा भव्य कार्यक्रम आयोजना गरेको छ। विद्यालयले विश्व बजारमा बढ्दो माग रहेका प्राविधिक तथा सीपमूलक शिक्षालाई प्राथमिकतामा राख्दै होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयको महत्वबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले स्वागत कार्यक्रम सम्पन्न गरेको हो।
दमकस्थित नेपालीरिका होटलको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयका अनुसार नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरण, अनुशासन, अवसर र व्यावसायिक शिक्षाको महत्वबारे जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हो।
पछिल्लो समय नेपालसहित अन्तर्राष्ट्रिय श्रम बजारमा होटल म्यानेजमेन्ट, अतिथि सत्कार, पाककला तथा सूचना प्रविधि क्षेत्रका दक्ष जनशक्तिको माग निरन्तर बढ्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयले कक्षा ११ मा होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयलाई आधुनिक र व्यावहारिक ढंगबाट अध्यापन गराउँदै आएको जनाएको छ।
कार्यक्रमलाई आकर्षक बनाउन विद्यालयको बाल क्लबको संयोजनमा विभिन्न सांस्कृतिक प्रस्तुति राखिएको थियो। विशेषगरी कक्षा १० का विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति झल्किने परम्परागत पोसाकमा प्रस्तुत गरेको स्वागत नृत्यले उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाईँ) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले विद्यार्थीहरूलाई अनुशासन, निरन्तर मेहनत र सीप विकासमार्फत सफल भविष्य निर्माण गर्न प्रेरित गरिन्।
"कुनै पनि क्षेत्रमा सफलता रातारात प्राप्त हुँदैन। निरन्तरको मेहनत, लगनशीलता र अनुशासनले मात्र लक्ष्य हासिल गर्न सकिन्छ," उनले भनिन्, "अहिलेदेखि नै अध्ययनसँगै आफ्नो सीप विकासमा ध्यान दिनुभयो भने भविष्यका अवसरहरू अझ फराकिला बन्नेछन्।"
उपप्रमुख भट्टराईले गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनमा सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयले खेलेको भूमिकाको समेत प्रशंसा गरिन्।
विद्यालयका प्रिन्सिपल नवीन योगीले स्वागत मन्तव्य राख्दै विद्यालयले विद्यार्थी र अभिभावकको विश्वासलाई केन्द्रमा राखेर गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी शिक्षामा जोड दिँदै आएको बताए।
उनले होटल म्यानेजमेन्ट तथा कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप आर्जन गर्न आग्रह गरे।
"अनुशासन विद्यार्थीको सबैभन्दा ठूलो पूँजी हो। अभिभावकले तपाईंहरूको भविष्यका लागि गरेको लगानीको सम्मान गर्दै अध्ययनमा पूर्ण समर्पित हुनुपर्छ," उनले भने, "विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र आत्मविश्वासी जनशक्ति उत्पादन गर्नु विद्यालयको मुख्य उद्देश्य हो।"
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय परिवारले नवआगन्तुक विद्यार्थीहरूको सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरेको थियो। कार्यक्रममा विद्यालयले गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणाली तथा सीपमूलक अध्ययनमार्फत विद्यार्थीलाई सक्षम र प्रतिस्पर्धी नागरिकका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्याएको थियो।
कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयले जनाएको छ। विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर यस्ता शैक्षिक तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
Comments