रिलायन्स अंग्रेजी माध्यमिक विद्यालयमा ‘आरम्भ ३.०’ विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न

O
ourdamak २०८२ फागुन ७
Reads
रिलायन्स अंग्रेजी माध्यमिक विद्यालयमा ‘आरम्भ ३.०’ विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न

मिक्लाजुङ गाउँपालिका वडा नं. ७ स्थित रिलायन्स अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित तीन दिने विज्ञान प्रदर्शनी ‘आरम्भ ३.०’ तथा ‘कोशी यन्त्र ४.० (Robo Scorer)’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सोमबार मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले एक विशेष समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले विद्यालयले आयोजना गरेको यस कार्यक्रमको प्रशंसा गर्दै यस्ता प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै समयसापेक्ष र व्यवहारिक शिक्षा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

विद्यालयका संस्थापक प्रिन्सिपल शुवास राईका अनुसार प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न विधामा कुल १११ वटा स्टलहरू राखेका थिए। तीन दिनसम्म चलेको उक्त प्रदर्शनीमा मिक्लाजुङ गाउँपालिकाका साथै छिमेकी उर्लाबारी र दमक क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावकहरूले उत्साहजनक रूपमा अवलोकन गरेका थिए। कार्यक्रममा मिक्लाजुङ-७ का वडाध्यक्ष शुशीलराज चौहान, वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) तथा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष जय बहादुर श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो।

प्रदर्शनीको तेस्रो दिन आयोजित समापन समारोहमा मिक्लाजुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख काशीनाथ खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि खनालले विद्यार्थीहरूद्वारा प्रस्तुत वैज्ञानिक मोडेल र सिर्जनात्मक प्रस्तुतिहरूको उच्च प्रशंसा गर्दै उनीहरूको हौसला र आत्मविश्वास अभिवृद्धि गरिदिनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा नवप्रवर्तन र प्रविधिप्रति रुचि जगाउनुका साथै उत्कृष्टताको लक्ष्यतर्फ अघि बढ्न ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

समापनको अवसरमा विद्यालय परिवारले आफ्नो निमन्त्रणा स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण अतिथिगण, अभिभावक र सहयोगी संस्थाहरूप्रति हार्दिक धन्यवाद तथा गहिरो कृतज्ञता व्यक्त गरेको छ। पी.आइ. एनोभेसनको सहकार्यमा सम्पन्न यस उत्सवले विद्यार्थीहरूमा नयाँ ऊर्जा र दृढ आत्मविश्वास पैदा गरेको र आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।

Share this story:

Comments