डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण: अध्यक्षमा अप्सन खनाल निर्वाचित
दमक/ डिपीएल टिन्स बोर्ड दमकको छैटौं पद हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको
छ। फाल्गुन ७ गते आयोजित उक्त विशेष समारोहले डिपीएल टिन्स बोर्ड दमक–२०२६ का लागि
अप्सन खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नयाँ
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोजीत बस्नेत, महासचिवमा उपमा राउत र कोषाध्यक्षमा सुप्रीम
पाण्डे चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष पदको जिम्मेवारी रिश्ता खड्का र अमिस
पौडेलले प्राप्त गर्नुभएको छ। संस्थाको गतिविधिलाई प्राविधिक तथा रचनात्मक रूपमा
अगाडि बढाउन निर्देशकहरूको रूपमा अप्सना बस्नेत,
रक्षा प्रसाई, सुजल श्रेष्ठ र अंशु
निरौलालाई नियुक्त गरिएको छ भने सदस्यहरूमा श्रीबिना राई र प्राप्ति दाहाल
रहनुभएको छ।
नवनिर्वाचित
अध्यक्ष अप्सन खनालले पदभार ग्रहण गर्दै संस्थाको गरिमालाई उच्च राख्ने र आगामी
दिनमा सामाजिक तथा संस्थागत क्रियाकलापलाई थप सक्रिय एवं प्रभावकारी बनाउने
प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका वक्ताहरूले नयाँ कार्यसमितिले युवाहरूको
नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा नवीन योजनाहरू ल्याउँदै दमक क्षेत्रमा
संस्थाको उपस्थितिलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। नयाँ
कार्यसमितिको आगमनसँगै डिपीएल टिन्स बोर्डले सामाजिक रूपान्तरण र युवा सशक्तिकरणमा
नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।