पाँचथरको दशमी बजारमा ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला लाग्ने
पाँचथर । पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाको सङ्गम स्थल दशमी बजारमा आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म ७६औँ ऐतिहासिक प्रजातन्त्र दिवस मेला २०८२ भव्य रूपमा आयोजना हुने भएको छ। दशमी बजार व्यवस्थापन समितिको आयोजना तथा संयुक्त युवा फूलबारी समूह र अरुणिमा युवा क्लबको सह-आयोजनामा लाग्न लागेको यस मेलामा विविध साङ्गीतिक कार्यक्रम र कलाकारहरूको विशेष उपस्थिति रहनेछ। मेलाको मुख्य आकर्षणका रूपमा फागुन ८ गते विशेष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरिनेछ, जसमा चर्चित राष्ट्रिय कलाकारहरू अशोक मुकारुङ राई, पवित्रा किराँती, प्रितिका बेघा लिम्बु, अमृत लिम्बु, पारस राई र अनिल थुलुङ लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै 'द भ्वाइस अफ नेपाल'का प्रतिस्पर्धीहरू र स्थानीय कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्।
मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू समेत सञ्चालन गरिनेछ। फागुन ४ गतेदेखि नै सुरु हुने पुरुष नकआउट फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार रुपैयाँ र द्वितीय पुरस्कार २५ हजार रुपैयाँ रहेको छ, जसमा छिमेकी गाउँपालिकाका वडा स्तरीय टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै फागुन ११ गतेदेखि सुरु हुने ब्याडमिन्टन प्रतियोगितामा विभिन्न लेभलका लागि १५ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। मेलाको कार्यतालिका अनुसार फागुन ७ गते औपचारिक उद्घाटनसँगै विभिन्न जातजातिका झाँकी प्रदर्शन गरिनेछ भने ८ गते साङ्गीतिक धमाका र ९ गते समापन समारोहका बीच पुरस्कार वितरण गरिनेछ। ऐतिहासिक प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको यस मेलाले स्थानीय कला, संस्कृति र खेलकुदको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक समितिका अध्यक्ष रवि बहादुर राईले व्यक्त गर्नुभएको छ।