झापाबासीलाई गाली गर्ने रवि चुँडालविरुद्ध किटानी जाहेरी: प्रहरीद्वारा खोजी कार्य तीव्र

O
ourdamak २०८२ फागुन २८
Reads
झापाबासीलाई गाली गर्ने रवि चुँडालविरुद्ध किटानी जाहेरी: प्रहरीद्वारा खोजी कार्य तीव्र

दमक, झापा । झापा क्षेत्र नम्बर ५ को निर्वाचन परिणामपछि सामाजिक सञ्जालमार्फत झापाबासी र विशेषगरी दमकका बासिन्दाहरूलाई लक्षित गरी घृणास्पद एवं अपमानजनक अभिव्यक्ति दिने रवि चुँडाल (हरि प्रसाद चुँडाल) विरुद्ध इलाका प्रहरी कार्यालय दमकमा औपचारिक रूपमा किटानी जाहेरी दर्ता गरिएको छ।

दमकका स्थानीय युवाहरू पारसमणि आचार्यशेखर खड्काले संयुक्त रूपमा चुँडालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुर तथा सार्वजनिक नैतिकता विरुद्धको अपराधअन्तर्गत कारबाहीको माग गर्दै जाहेरी दिनुभएको हो। जाहेरी दर्ता भएको २९ घण्टा बितिसक्दा प्रहरीले चुँडालको खोजी कार्यलाई तीव्रता दिएको जानकारी प्राप्त भएको छ।

के हो मुख्य घटना?
गौरादह नगरपालिका वडा नं. ५ निवासी चुँडालले टिकटक, फेसबुक र युट्युब जस्ता माध्यमबाट भिडिओ सार्वजनिक गर्दै दमकबासीलाई 'चोर', 'अपराधी' र 'दुष्ट' जस्ता निकै तल्लो स्तरका शब्द प्रयोग गरी गालीगलौज गरेका थिए। यसअघि बालेन शाहले चुनाव जिते 'दिसा खाने' भनी चर्चामा आएका उनले यसपटक सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएपछि दमकका युवाहरू कानुनी उपचारमा उत्रिएका हुन्।

साइबर अपराधमा पनि उजुरी
प्रहरी कार्यालयमा बुझाइएको जाहेरीमा चुँडालले प्रयोग गरेका शब्दहरूले समाजमा सुन्नै नसकिने र जातजाति एवं सम्प्रदायबीचको मधुर सम्बन्धलाई बिगार्ने प्रयास गरेको उल्लेख छ। यस विषयलाई साइबर क्राइम ब्यूरोमा समेत दर्ता गराइएको छ।

जाहेरीकर्ताहरूले भन्नुभएको छ, "समाजमा गलत कुरा देख्दा चुप बस्नु पनि गलत नै हो। सत्य र न्यायको पक्षमा उभिनु हाम्रो जिम्मेवारी हो, त्यसैले हामीले यो कानुनी कदम चालेका हौँ।"

हाल फरार रहेका चुँडालको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकले विशेष सक्रियता देखाएको छ। प्रहरीले यसलाई गम्भीर साइबर अपराधको रूपमा लिएर अनुसन्धान अघि बढाएको छ।

Share this story:

Comments