दमकमा बढ्दो क्याफे मोह: ‘क्रेज’ कि लहड ?

O
ourdamak २०८२ फागुन ३०
Reads
दमकमा बढ्दो क्याफे मोह: ‘क्रेज’ कि लहड ?

दमक, झापा । पछिल्लो केही वर्षयता दमकको स्वरूप र जीवनशैलीमा एउटा ठूलो परिवर्तन देखिएको छ। सहरका मुख्य चोकदेखि भित्री गल्लीहरूसम्म अहिले एउटै दृश्य साझा बनेको छ— त्यो हो, रङ्गीचङ्गी ‘क्याफे’ हरू। युवा पुस्ताको बढ्दो आकर्षण र भेटघाटको नयाँ गन्तव्यका रूपमा क्याफे संस्कृति दमकमा निकै फस्टाएको छ। तर, यो बढ्दो मोहसँगै केही गम्भीर प्रश्नहरू पनि सतहमा आएका छन्। के दमकमा क्याफे खुल्ने क्रम आवश्यकताको आधारमा छ कि केवल देखासिखी र लहडमा ?

लगानीको ओइरो, अध्ययनको खडेरी
दमकमा एउटा सामान्य देखिने क्याफे खोल्न पनि अहिले लाखौँ रुपैयाँ खर्च भइरहेको छ। सजावट (Interior), फर्निचर र अत्याधुनिक उपकरणमा लगानीकर्ताहरूले मनग्ये पैसा खन्याएका छन्। तर, बिडम्वना के छ भने, लाखौँको लगानी गर्ने धेरै लगानीकर्ताहरूले व्यवसाय सुरु गर्नुअघि बजारको अध्ययन र व्यावसायिक योजना बनाएको देखिँदैन। अर्काको क्याफेमा ग्राहकको भीड देखेकै भरमा, कतिपयले अध्ययन बिना नै लगानी गरिरहेका छन्। जसको परिणाम स्वरूप, सुरुका केही महिना उत्साहजनक देखिए पनि बिस्तारै धेरै क्याफेहरू ग्राहकको अभावमा छटपटाउन थाल्छन्।

पार्किङ र मूल्यको सास्ती
 क्याफे खुल्ने क्रम बढे पनि सेवाको गुणस्तरमा भने खासै सुधार आउन सकेको छैन। दमकका अधिकांश नयाँ क्याफेहरूको मुख्य समस्या ‘पार्किङ’ बनेको छ। सडकको छेउमा वा साँघुरो ठाउँमा खोलिएका क्याफेमा आउने ग्राहकका सवारी साधनले गर्दा सहरको ट्राफिक व्यवस्थापनमै चुनौती थपिएको छ।

अर्कोतर्फ, मध्यमवर्गीय परिवार र विद्यार्थीहरूको बाहुल्यता रहेको दमकमा क्याफेको मूल्य अचाक्ली महँगो भएको गुनासो व्याप्त छ। एउटै कफी वा खाजाको मूल्य साधारण होटलको तुलनामा तेब्बरसम्म हुनुले यो संस्कृति केवल सीमित वर्गको विलासिता मात्र बन्ने त होइन भन्ने आशङ्का उब्जाएको छ। धेरैजसो क्याफेमा स्वाद र सेवामा एकरूपता छैन। सजावटमा लाखौँ खर्च गर्ने तर भान्साको स्वच्छता र कर्मचारीको व्यवहारमा ध्यान नदिने प्रवृत्तिले गर्दा ग्राहकहरू दोहोर्‍याएर जाने वातावरण बन्न सकेको छैन।

युवा पुस्तालाई सुझाव: लहडमा नलागौँ सहरमा विकल्पहरू थपिनु राम्रो पक्ष हो। तर, नयाँ लगानी गर्न खोज्ने युवा पुस्ताले के बुझ्न जरुरी छ भने, व्यवसाय केवल ‘सेल्फी’ खिच्ने ठाउँ बनाएर मात्र टिक्दैन। नाफाको लोभमा अध्ययन बिना नै हाम फाल्नुले आर्थिक जोखिम मात्र बढाउँछ। क्याफे खोल्नुअघि लोकेसन, लक्षित ग्राहक, पार्किङ सुविधा र सबैभन्दा महत्वपूर्ण कुरा—खाजाको स्वाद र उचित मूल्यमा ध्यान दिनु आवश्यक छ।

निष्कर्षमा, दमकको क्याफे मोहलाई दिगो बनाउने हो भने अब सजावटमा मात्र होइन, सेवा र अध्ययनमा पनि ध्यान दिनु पर्ने समय आएको छ। नत्र, अहिले देखिएको यो उत्साह भोलि बालुवाको जगमा ठडिएको महल जस्तै ढल्न बेर लाग्ने छैन।

Share this story:

Comments