दमक, झापा । इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी हरिबहादुर बस्नेतसहित तीनजना प्रहरी कर्मचारी जेठ महिनाको “उत्कृष्ट प्रहरी” (पुलिस अफ द मन्थ) घोषित भएका छन्। विभागीय मूल्य-मान्यता र निर्देशनको पालना गरी जिम्मेवारी उत्कृष्ट तवरले बहन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई पुरस्कृत गरेको हो।
उत्कृष्ट घोषित हुनेहरूमा डीएसपी हरिबहादुर बस्नेत, प्रहरी निरीक्षक नवीन राई र प्रहरी सहायक हवल्दार वीरेन्द्र तामाङ रहेका छन्। उनीहरूले विभिन्न अपराधको सफल अनुसन्धान र अपराधी पक्राउ गर्न महत्त्वपूर्ण भूमिका खेलेको झापा प्रहरी प्रमुख बसुन्धरा खड्काले जानकारी दिइन्।
उत्कृष्ट कार्यका मुख्य आधारहरू:
बोरामा फालिएको शवको सफल अनुसन्धान: गत जेठ १६ गते दमक १० स्थित रतुवा खोलाको पुलमुनि बोरामा बाँधेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो। प्रहरी टोलीले सूक्ष्म अनुसन्धान गरी उक्त शव दमक ८ की २१ वर्षीया रमा तिवारीको रहेको पत्ता लगायो। घटनामा संलग्न आरोपी भारत बिहारका ३४ वर्षीय राकेशकुमार पण्डितलाई जेठ २१ गते पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सफल भएको थियो।
१३ वर्षदेखि फरार अपराधीसहित १४० जना पक्राउ: कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद फैसला भई १३ वर्षदेखि फरार रहेका दिवस चौधरी (साविक नाम दिप्सन चौधरी) लाई प्रहरीले पक्राउ गरेको छ। घटनाको समयमा १७ वर्षका रहेका चौधरीले पछि नाम परिवर्तन गरी नागरिकता बनाएका थिए। यसका साथै जेठ महिनामा विभिन्न मुद्दाका १४० जना फरार प्रतिवादी पक्राउ गरी कुल ४३ वर्ष २९ दिन कैद र ५ करोड ५१ लाख ५० हजार ७७७ रुपैयाँ जरिवाना असुलउपर गरिएको छ।
लागुऔषध नियन्त्रण: डीएसपी बस्नेत नेतृत्वको टोलीले जेठ महिनामा लागुऔषधसहित ८ जना पुरुष र १ जना महिला गरी ९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २१ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र १५ क्याप्सुल ट्रामाडोल बरामद गरी अनुसन्धान अघि बढाइएको छ।
Comments