दमक, झापा । पूर्वी पहाड जोड्ने रणनीतिक महत्त्वको दमक–चिसापानी सडकको बाँकी काम सम्पन्न गर्नका लागि बहुवर्षीय ठेक्का प्रयोजनार्थ कुल १ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ रकम स्वीकृत भएको छ। आयोजनाले माग गरे अनुसार नै नेपाल सरकारबाट स्रोत सुनिश्चितताको अन्तिम सहमति प्राप्त भएसँगै यो गौरवको आयोजनाको वित्तीय सङ्कट सदाका लागि टरेको हो। उक्त स्वीकृत रकम सडक डिभिजन कार्यालय दमक मार्फत योजनाबद्ध रूपमा खर्च गरिनेछ।
दमक–चिसापानी सडक आयोजनाका अध्यक्ष गगन पुरीका अनुसार यस बहुवर्षीय ठेक्काका लागि कडा र विशेष प्राविधिक सर्तहरू निर्धारण गरिएका छन्। यो आयोजना अधिकतम ३ वर्षभित्र पूर्ण रूपमा सम्पन्न गरिसक्नुपर्ने समयसीमा (डेडलाइन) तोकिएको छ। निर्माण कार्यलाई द्रुत गतिमा लैजान भुक्तानी प्रक्रियालाई निकै लचिलो र कार्यसम्पादनमा आधारित बनाइएको अध्यक्ष पुरीले जानकारी दिनुभयो। नयाँ सम्झौता अनुसार निर्माण व्यवसायीले आवश्यक जनशक्ति र प्रविधि परिचालन गरी १ वर्षभित्रै काम सकेमा १ वर्षमै पुरै भुक्तानी पाउनेछ। त्यसै गरी २ वर्षमा काम सके २ वर्षमै र अधिकतम ३ वर्षभित्र काम सकेमा सम्झौता बमोजिमको सम्पूर्ण भुक्तानी पाउने सुनिश्चितता गरिएको छ, तर कुनै पनि बहानामा ३ वर्षभन्दा बढी समय थप गर्न नपाइने कानुनी सर्त राखिएको छ।
विगत ३१ वर्षदेखि (वि.सं. २०५१ सालदेखि) विभिन्न कानुनी विवाद, ठेकेदारको लापरबाही र बजेट अभावका कारण यो सडकको २६ किलोमिटर खण्ड अलपत्र पर्दै आएको थियो। आयोजनाको माग बमोजिम सरकारले १ अर्ब ६४ करोड ८८ लाखको यो वृहत् बहुवर्षीय स्रोत सुनिश्चितता गरिदिएपछि सडक डिभिजन कार्यालय दमकलाई यही असार महिना भित्रै ग्लोबल टेन्डर (ठेक्का आह्वान) गर्ने बाटो पूर्ण रूपमा खुलेको छ।
३३ किलोमिटर कुल लम्बाई रहेको यो सडकले दमकबाट इलामको चुलाचुली, माङसेबुङ हुँदै पाँचथरको रविसम्म जोड्ने भएकाले यसलाई पूर्वी पहाडकै 'आर्थिक लाइफलाइन' मानिन्छ। आयोजनाका अध्यक्ष पुरीले यस ऐतिहासिक वित्तीय स्वीकृतिका लागि सहयोग गर्ने मन्त्रालय, प्राविधिक टिम र सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्याम कुमार यादव लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिँदै अब तोकिएको समयभित्रै गुणस्तरीय काम सम्पन्न गराउन स्थानीय स्तरबाट अहोरात्र अनुगमन र समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
Comments