दमक। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच शुक्रबार बिहान ६ बुँदे सहमति भएको छ। रातभर चलेको वार्तापछि बिहान करिब ५:१५ बजे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
सहमतिपत्रअनुसार नेपाल सरकारले मृतकहरूलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै मृतकका परिवारलाई नेपाल सरकारको तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने उल्लेख गरिएको छ।
त्यस्तै, २०८३ साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमति भएको छ। घटनास्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयवस्तुबारे आवश्यक छानबिन तत्काल सुरु गरिने पनि सहमतिमा उल्लेख छ।
सहमतिअनुसार प्रत्येक मृतकका परिवारबाट एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ।
यस्तै, मृतकहरूको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।
गृहमन्त्री सुदन गुरुङ र मृतक दुवै परिवारका अभिभावकबीच भएको उक्त सहमतिपत्रमा शुक्रबार बिहान हस्ताक्षर गरिएको हो। सहमतिसँगै घटनापछि उत्पन्न तनाव समाधानतर्फ अघि बढेको बताइएको छ।
Comments