दमक | झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा पनि पूर्णरुपमा कालोपत्र हुन सकेको छैन। २०४९ सालमा निर्माण सुरु गरिएको यो सडक झापा, इलाम र पाँचथर जोड्ने महत्वपूर्ण मार्ग भए पनि लामो समयदेखि अधुरै रहँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
दमकको जिरो प्वाइन्टदेखि चिसोपानी पञ्चमीसम्म करिब ३३ किलोमिटर सडक रहेकामा हालसम्म करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ। करिब एक किलोमिटर सडक कालोपत्रको चरणमा छ भने बाँकी अधिकांश सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ।
सडकको अवस्था वर्षायाममा झनै दयनीय बन्ने गरेको स्थानीय बताउँछन्। लगातारको वर्षाका कारण ठाउँठाउँमा खाल्डाखुल्डी पर्नुका साथै सडकमा पानी जम्ने र हिलो हुने भएकाले यात्रु तथा सवारीसाधनलाई आवतजावतमा कठिनाइ हुने गरेको छ। दैनिक सयौँ मालवाहक तथा यात्रुवाहक सवारीसाधन यही सडक भएर सञ्चालन हुने गरेका छन्।
माङसेबुङ–३ का निवर्तमान वडाध्यक्ष मैतराज राईका अनुसार वर्षायाममा मोटरसाइकलसमेत सञ्चालन गर्न कठिन हुन्छ भने हिउँदमा धुलोका कारण सडक आसपासका बासिन्दा प्रभावित हुने गरेका छन्। सडक निर्माणको ट्रयाक खोल्ने क्रममा आफूहरुले समेत श्रमदान गरेको स्मरण गर्दै उहाँले तीन दशकभन्दा बढी समय बित्दा पनि सडक पूरा नहुनु दुःखद भएको बताउनुभयो।
दमक–चिसोपानी सडक पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ। यस मार्ग हुँदै तीनथुम्बे र माङमालुङ डाँडा, गजुरमुखी धाम, सहिद रत्नकुमार वान्तवा सहादतस्थल तथा किरात धर्मावलम्बीको महत्वपूर्ण धार्मिक केन्द्र लारुम्बा पुग्न सकिन्छ। सडकको अवस्था कमजोर हुँदा पर्यटक तथा धार्मिक स्थलमा जाने यात्रुलाई समेत समस्या हुने गरेको स्थानीयको भनाइ छ।
सडक निर्माण पूरा नहुँदा माङसेबुङ, फाकफोकथुम, देउमाई तथा पाँचथरका मिक्लाजुङ, फाल्गुनन्द, तम्बेवा र कुम्मायक क्षेत्रका नागरिकलाई झापा आवतजावत गर्न कठिनाइ छ। कृषि उत्पादन बजारसम्म पुर्याउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समेत समस्या हुने गरेको छ।
ठेक्का लागे पनि काम अधुरै
सडकको पहिलो खण्डअन्तर्गत दमकको जिरो प्वाइन्टदेखि मार्चेबुङसम्म ६ दशमलव २९ किलोमिटर सडक कालोपत्र गर्न २०७५ साउन २९ गते महालक्ष्मी–किरातेश्वर जेभीसँग ठेक्का सम्झौता भएको थियो। ३० महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि आठ वर्ष बित्दा करिब साढे पाँच किलोमिटर मात्र कालोपत्र भएको छ।
२२ करोड ५९ लाख ६४ हजार रुपैयाँमा भएको उक्त ठेक्काको म्याद पटकपटक थपिए पनि काम पूरा हुन सकेन। अन्तिमपटक थपिएको म्याद २०८० असार मसान्तमै सकिएको हो। अहिले ठेकेदार कम्पनीले दैनिक जरिवानामा काम गरिरहेको सडक डिभिजन दमकका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताउनुभयो। उहाँका अनुसार अब करिब एक किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ।
यसैगरी सडकको दोस्रो १५ किलोमिटर र तेस्रो ११ किलोमिटर खण्ड निर्माण तथा कालोपत्रका लागि लुम्बिनी–गणपति जेभीसँग ठेक्का सम्झौता भएको थियो। दुवै खण्डको काम निर्धारित समयमा सम्पन्न हुन नसकेपछि म्याद थपिएको थियो। थपिएको अवधिमा दोस्रो खण्डमा करिब ६२ प्रतिशत र तेस्रो खण्डमा करिब २८ प्रतिशत काम भएपछि ठेकेदार कम्पनीले काम छाडेको थियो।
काम रोकिएपछि सरकारले २०८० चैत १३ गते लुम्बिनी–गणपति जेभीसँगको ठेक्का सम्झौता रद्द गरी बैंक ग्यारेन्टी जफत गरेको थियो। त्यसविरुद्ध कम्पनीले अदालतमा मुद्दा दायर गरे पनि उच्च अदालत पाटनले रिट खारेज गरिदिएको थियो। जिल्ला अदालत झापाबाट भने विवाद मध्यस्थतामार्फत समाधान गर्न आदेश भएको सडक डिभिजनले जनाएको छ।
नयाँ ठेक्काबाट काम अघि बढाउने तयारी
पुरानो ठेक्का रद्द भएपछि सरकारले दमक–चिसोपानी सडकको बाँकी करिब २६ किलोमिटर कालोपत्रका लागि गत असार ५ गते नयाँ ठेक्का आह्वान गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ बाटै निर्माण सुरु गर्ने तयारी रहेको सडक डिभिजन दमकका प्रमुख इन्जिनियर यादवले बताउनुभयो।
नयाँ ठेक्काका लागि १९ वटा निर्माण कम्पनीले प्रस्ताव पेस गरेका छन्। अहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको र त्यसपछि आर्थिक प्रस्ताव खोलिने जनाइएको छ। संघीय सरकारले सडक निर्माणका लागि एक अर्ब ६४ करोड रुपैयाँको स्रोत सहमति दिएको छ भने चालु आर्थिक वर्षका लागि १२ करोड रुपैयाँ विनियोजन भएको छ।
वर्षौंदेखि सडक निर्माणको आश्वासन पाउँदै आएका स्थानीय भने नयाँ ठेक्कापछि यसपटक सडक निर्माणले गति लिनेमा आशावादी छन्। माङसेबुङ–२ का मिलन लिम्बूले लामो समयदेखि सडक बन्ने आश्वासन मात्र पाउँदै आएको बताउँदै अब निर्माण कार्यलाई निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताउनुभयो।
वर्षाका कारण हेभी सवारीमा रोक
वर्षाका कारण सडक क्षतिग्रस्त भएपछि माङसेबुङ गाउँपालिकाले सडकको आफ्नो क्षेत्रमा हेभी मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। ट्रक, टिप्पर, ट्रेलर तथा अन्य भारी क्षमताका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ। अत्यावश्यक वस्तु ढुवानी गर्ने सवारीसाधनलाई भने रोक नलगाइएको जनाइएको छ।
सडक मर्मतसम्भारका लागि इलामका माङसेबुङ र फाकफोकथुम तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकाले संयुक्त रुपमा काम सुरु गरेका छन्। माङसेबुङले १५ लाख, फाकफोकथुमले सात लाख र मिक्लाजुङले आठ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँको लागतमा सडक मर्मत भइरहेको छ।
माङसेबुङ–३ भञ्ज्याङदेखि माङसेबुङ–२ को माङबालुङसम्मका बढी समस्याग्रस्त स्थानमा खाल्डाखुल्डी पुर्ने र ग्राभेल गर्ने काम भइरहेको छ। स्थानीयका अनुसार सडक स्तरोन्नति भएर नियमित रुपमा सञ्चालनमा आए झापा, इलाम र पाँचथरका हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ। सडक निर्माण सम्पन्न भए यस क्षेत्रको व्यापार, पर्यटन र कृषि गतिविधिमा समेत उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ।
दमक–चिसोपानी सडक निर्माण सुरु भएको तीन दशकभन्दा बढी समय बितिसकेको छ। पटकपटक ठेक्का लाग्ने, म्याद थपिने र काम रोकिने क्रम दोहोरिँदै आएको यो सडक अब नयाँ ठेक्कामार्फत कहिलेसम्म पूर्ण हुन्छ भन्ने विषय स्थानीयका लागि मुख्य चासो बनेको छ।
स्रोत: रासस
Comments