झापा क्षेत्र नं. ५: निर्वाचनको सम्पूर्ण तयारी पूरा
भोलि बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा मतदानको सम्पूर्ण तयारी पूरा भएको छ। जिल्ला निर्वाचन कार्यालय र स्थानीय प्रशासनले मतदान केन्द्रहरूको भौतिक व्यवस्थापन, सुरक्षा प्रवन्ध र कर्मचारी खटाउने कार्य सम्पन्न भएको जानकारी दिएको छ।
निर्वाचन कार्यालयका अनुसार झापा क्षेत्र नम्बर ५ मा कुल १८५ मतदान केन्द्रहरू तय गरिएका छन्, जहाँ १ लाख ६३ हजार ३७९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। स्थानीय तहगत विवरण अनुसार दमक नगरपालिकाका १० वटा वडामा ७२ वटा मतदान केन्द्र र ६५ हजार ९९७ मतदाता रहेका छन्। त्यस्तै, गौराहद नगरपालिकाका ८ वटा वडामा ५१ वटा केन्द्र र ४१ हजार ४७५ मतदाता छन् भने कमल गाउँपालिकाका ७ वटा वडामा ४५ वटा केन्द्र र ४० हजार ७८६ मतदाता रहेका छन्। गौरीगन्ज गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ मा १७ वटा केन्द्र तोकिएका छन्, जहाँ १५ हजार १२१ मतदाताले मतदान गर्नेछन्।
निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आज सबै मतदान केन्द्रहरूमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीको विशेष टोली परिचालन गरिएको छ। सुरक्षा समन्वय इकाइका अनुसार संवेदनशील मानिएका केन्द्रहरूमा हेलिकप्टर र मोबाइल टोलीमार्फत समेत कडा निगरानी गर्ने व्यवस्था मिलाइएको छ।
मतदान सम्पन्न भएलगत्तै मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गर्न दमकस्थित अर्गानिक कृषि बजारमा मतगणना स्थल तयार पारिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मतगणना स्थलमा तारजाली र सीसीटीभी क्यामरा जडान गरिएको छ। निर्वाचन अधिकृत विदुरकुमार कार्कीका अनुसार प्रत्येक मतगणना टोलीमा ४ जना कर्मचारी रहने गरी जनशक्ति परिचालन गरिएको छ।
यस पटक झापा क्षेत्र नम्बर ५ लाई निकै चासोका साथ हेरिएको छ। यहाँ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह (बालेन) बीचको प्रतिस्पर्धा मुख्य आकर्षणको केन्द्र बनेको छ। निर्वाचन आयोगले सम्पूर्ण मतदाताहरूलाई निर्धक्क भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।