प्रतिनिधिसभा निर्वाचन: ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न, आजदेखि ढुवानी सुरु

O
ourdamak २०८२ फागुन २
Reads
प्रतिनिधिसभा निर्वाचन: ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न, आजदेखि ढुवानी सुरु

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छपाइ कार्यअन्तर्गत हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र तयार भइसकेको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो।

कुन–कुन जिल्लाको सकियो छपाइ?
आयोगका अनुसार कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशका अधिकांश जिल्लाको छपाइ सकिएको छ। जसमा झापा, मोरङ, सुनसरी, इलाम, कास्की, रुपन्देही, बाँके, दाङ, चितवन र डोल्पा लगायतका ६३ जिल्ला रहेका छन्। अब काठमाडौँ उपत्यका र आसपासका १४ जिल्लाको मात्र मतपत्र छाप्न बाँकी छ, जुन आगामी तीन दिनभित्र सकिने अनुमान गरिएको छ।

कर्णालीबाट ढुवानी सुरु छपाइ सम्पन्न भएसँगै आयोगले आजैदेखि मतपत्र ढुवानीको कार्य समेत थालनी गरेको छ। पहिलो चरणमा कर्णाली प्रदेशका १० जिल्ला (सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत) का १२ निर्वाचन क्षेत्रका लागि मतपत्र पठाइएको छ।

छपाइ र प्याकिङको अवस्था:

  • प्याकिङ: हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। दैनिक करिब १ हजार बाकस प्याकिङ भइरहेको छ।

  • छपाइ दर: हाल दैनिक ११ देखि १५ लाखको संख्यामा मतपत्र छपाइ भइरहेको छ।

  • लक्ष्य: प्रत्यक्षतर्फको निर्वाचनका लागि कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगको कार्यतालिका छ।

गत पुस २२ गतेदेखि सुरु भएको छपाइ प्रक्रियामा सुरुमा करिब ११ लाख नमूना मतपत्र छापेर जिल्ला–जिल्लामा पठाइसकिएको छ। दोस्रो चरणको ठूलो हिस्सा छपाइ सकिएर अब रुजु र ढुवानीको तयारीलाई तीव्रता दिइएको छ।

Share this story:

Comments